नियम ४८
निविदा मतपत्र दिने कार्यविधि
(१) कुनै मतदाताले आफ्नो नामबाट अरु कसैले मतपत्र लिई सकेको वा मतदान गरी सकेको तर आफू नै वास्तविक मतदाता हो भनी दाबी गर्न चाहेमा निजले मतदान अधिकृत समक्ष आफ्नो परिचय खुल्ने प्रमाण संलग्न राखी आफू नै वास्तविक मतदाता भएको दाबी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दाबी गरिएको अवस्थामा मतदान अधिकृतले दाबीकर्ताको दाबी बमोजिम निज वास्तविक मतदाता हो होइन भन्ने कुरा यकिन गर्नु पर्नेछ । दाबीकर्ताले आफ्नो नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा निजको परिचय खुल्ने अन्य प्रमाण प्रस्तुत गरेमा सोको प्रतिलिपि मतदान अधिकृतले लिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रस्तुत प्रमाणबाट दाबीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्णय गरेपछि मतदान अधिकृतले निविदा मतपत्रको लगत तयार गरी सो लगतमा दाबीकर्ताको सहीछाप समेत गराई मतपत्रमा मतदान अधिकृतले सही गर्ने ठाउँको बाँयातिरको खाली ठाउँमा “निविदा मतपत्र” लेखी सो मतपत्र दाबीकर्ता मतदातालाई मतसङ्केत गर्न दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको मतपत्र मतपेटिका भित्र नखसाली निविदा मतपत्र राख्ने छुट्टै खाममा राख्नु पर्नेछ र त्यस्तो खाम मतदान अधिकृतले आफ्नो जिम्मामा राख्नु पर्नेछ ।
(६) मतदान अधिकृतले दाबीकर्ताको विवरण, दाबीकर्ताको प्रमाणको विवरण र निर्णय समेतको छुट्टै अभिलेख राख्नु पर्नेछ ।